thegurkhacentre.org.uk

द गोर्खा सेन्टरले भेटघाट सहित क्रिसमस विशेष “भेटरन्स क्याफे” आयोजना गर्‍यो

द गोर्खा सेन्टर | लन्डन | १० डिसेम्बर २०२४

द गोर्खा सेन्टरले क्रिसमसको अवसरमा हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टरमा विशेष कार्यक्रमसहित मासिक भेटघाट “भेटरन्स क्याफे” आयोजना गर्‍यो। गत साता आयोजित कार्यक्रममा हिलिङ्डन, हन्सलो, इलिङ र ह्यारोबाट गोर्खा भेट्रान्स तथा उहाँहरुका परिवारको उत्साहजनक सहभागिता रहेको थियो। स्वादिष्ट खाना र आत्मीय शुभकामनासहितको कार्यक्रममा लन्डन भेटरन्स एडभाइजरी एण्ड पेन्सन कमिटीका अध्यक्ष रोबिन हर्जबर्ग, हेज टाउन पार्टनरसिपका अध्यक्ष डेभिड ब्रो, डिपार्टमेन्ट अफ वर्क एण्ड पेन्सन्स र अप करेज एनएचएसका प्रतिनिधिहरू सहभागी थिए।

गोर्खा भेट्रान्सहरुलाई सम्बोधन गर्दै रोबिन हर्जबर्गले पूर्व गोर्खा सैनिकहरूका समस्या सम्बोधन गर्न ब्रिटिश सरकारलाई एक प्रतिवेदन बुझाउने प्रतिबद्धता व्यक्त गरे। उनले उक्त प्रतिवेदन सन् २०२५ को अप्रिलसम्ममा तयार हुने पनि जनाए ।

उक्त अवसरमा भूतपूर्व सैनिकहरूले उच्च भिसा शुल्कप्रति असन्तुष्टि व्यक्त गर्दै गोरखा पूर्व सैनिकहरूलाई पुनः बेलायत प्रवेश गर्दा वा नेपालबाट आफ्ना सन्तानलाई भेट्न आउने क्रममा शुल्क मिनाहा वा अनुदान उपलब्ध गराउन माग गरे ।

सरकारले आवास भत्ता वापत दिने रकमले घर भाडा तिर्न नपुग्ने भन्दै पूर्व सैनिकहरूले बेलायतका विभिन्न इलाकामा घर भाडाको अध्ययन गरी भदा बढाउन आग्रह गरे । उनीहरुले जीपी तथा अस्पतालमा नेपाली भाषाका पर्याप्त अनुवादकहरु उपलब्ध गराउन पनि आग्रह गरे।

उक्त छलफलमा सहभागीहरुले गोरखा पूर्व सैनिकहरूलाई मदत गर्न राइफल रेजिमेन्टले प्रयोग गर्ने स्विफ्ट प्रणालीजस्तै एप विकास गर्न सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा हेज टाउन पार्टनरसिपका अध्यक्ष डेभिड ब्रोले नेपाली गोर्खा समुदायलाई शिक्षा, तालिम र व्यवसायिक अवसरमार्फत समाजमा एकीकृत गर्नका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे।

उनले स्थानीय प्रहरीप्रति विश्वास पुनःस्थापित गर्नका लागि द गोर्खा सेन्टरसँग सहकार्य गर्ने पनि जनाए ।

डिपार्टमेन्ट फर वर्क एण्ड पेन्सन्सका आर्म्ड फोर्सेज च्याम्पियन ओलुबुन्मी एहिनमोवोले भूतपूर्व गोर्खा सैनिकहरुसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न द गोर्खा सेन्टरसंग सहकार्य गर्ने जनाए ।

उक्त अन्तरक्रियामा चेरीथ सिमन्स लर्निङ एण्ड डेभलपमेन्टका परामर्शदाता करन कुमार तथा अप करेज एनएचएसका होल्डेन जोन्सले पनि आफ्नो संस्थाका गतिविधि हरु बारे जानकारी गराएका थिए।

कार्यक्रमको अन्त्यमा द गोर्खा सेन्टरका सीइओ भीम तामांगले सबै सहभागीप्रति आभार व्यक्त गर्दै भूतपूर्व सैनिक, तिनका परिवार र समुदायको कल्याणका लागि सेन्टरले गर्दै आएका गतिविधिहरूबारे प्रकाश पारे। उनले भूतपूर्व गोर्खा सैनिकहरुलाई सघाउने सेन्टरको अभियानमा हातेमालो गर्न सबैलाई आग्रह पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these